स्थानीय तहका विषयगत समिति : नीतिगत परामर्शदेखि विकास परिणामसम्म

Posted on 17 March, 2026

स्थानीय तहका विषयगत समिति : नीतिगत परामर्शदेखि विकास परिणामसम्म

१. भूमिका

संघीय लोकतान्त्रिक शासन व्यवस्थाको मूल आत्मा उत्तरदायित्व, पारदर्शिता र सहभागितामा निहित हुन्छ। नेपालमा नेपालको संविधान २०७२ जारी भएसँगै स्थानीय तहलाई संवैधानिक हैसियत प्रदान गरिएको छ। गाउँपालिका र नगरपालिकालाई स्वायत्त शासन इकाइका रूपमा अधिकार, दायित्व र जिम्मेवारी हस्तान्तरण गरिएपछि स्थानीय सरकार केवल कार्यान्वयन निकाय मात्र नभई नीति निर्माण र विकास व्यवस्थापनको केन्द्र बनेका छन्।
 

यस परिप्रेक्ष्यमा स्थानीय तहमा गठित विषयगत समितिहरू संसदीय अभ्यासको लघु प्रतिरूपका रूपमा देखिन्छन्। संघीय संसदमा जस्तै विषयगत समितिहरूले विधेयकको अध्ययन, बजेट विश्लेषण, नीतिगत सुझाव तथा अनुगमन गर्ने भूमिका निर्वाह गर्छन्; त्यस्तै संरचना स्थानीय तहमा पनि विकास योजना, मध्यमकालीन खर्च संरचना, वार्षिक बजेट तथा नीतिगत विषयमा अध्ययन, विश्लेषण र परामर्शका लागि स्थापित गरिएको छ।

यस लेखमा स्थानीय सरकारमा रहेका विषयगत समितिको संरचना, कार्यक्षेत्र, कार्यप्रणाली तथा प्रभावकारितालाई संसदीय अभ्यासको कसीमा परीक्षण गरिएको छ।

२. संसदीय अभ्यास र विषयगत समितिको अवधारणा

संसदीय प्रणालीमा समितिहरूलाई “मिनी पार्लियामेन्ट” भन्ने गरिन्छ। किनभने:

• विस्तृत अध्ययन गर्ने

• सरोकारवालासँग छलफल गर्ने

• कार्यपालिकालाई उत्तरदायी बनाउने

• विधेयक तथा बजेटको सूक्ष्म परीक्षण गर्ने जस्ता कार्य समितिमार्फत सम्पन्न हुन्छन्।

नेपालमा संघीय संसदअन्तर्गत विषयगत समितिहरू गठन भई शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थ, कृषि लगायतका क्षेत्रको निगरानी र अध्ययन गर्छन्। त्यही संसदीय अभ्यासलाई स्थानीय तहमा संस्थागत गर्ने प्रयत्नस्वरूप विषयगत समिति व्यवस्था गरिएको देखिन्छ।

यस अर्थमा स्थानीय विषयगत समितिहरू:

• नीति निर्माण पूर्व अध्ययन निकाय

• बजेट पूर्व परीक्षण संयन्त्र

• क्षेत्रगत समन्वयको प्लेटफर्म

• सुशासन प्रवर्द्धनको साधनका रूपमा कार्यरत छन्।

३. संरचनागत व्यवस्था र प्रतिनिधित्व

उपलब्ध कार्यविधि अनुसार प्रत्येक विषयगत समितिमा:

• कार्यपालिकाले तोकेको सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजक रहने,

• महिला, दलित वा अल्पसंख्यक प्रतिनिधित्व सुनिश्चित हुने,

• शाखा प्रमुखहरू पदेन सदस्य रहने,

• सदस्य सचिवको व्यवस्था हुने प्रावधान राखिएको छ।

यस संरचनाले दुई महत्वपूर्ण पक्ष सुनिश्चित गर्छ:

(क) राजनीतिक प्रतिनिधित्व

निर्वाचित सदस्यहरूको सहभागिताले लोकतान्त्रिक वैधता सुनिश्चित गर्छ।

(ख) प्राविधिक विशेषज्ञता

शाखा प्रमुखहरूको पदेन सहभागिताले तथ्याङ्क, विश्लेषण र व्यवहारिकता सुनिश्चित गर्छ। संसदीय अभ्यासमा जस्तै यहाँ पनि राजनीतिक निर्णय र प्राविधिक विश्लेषणबीच सन्तुलन कायम गर्ने प्रयास देखिन्छ।

४. योजना तर्जुमा प्रक्रियामा समितिको भूमिका

विषयगत समितिको प्रमुख कार्य आवधिक योजना, रणनीतिक योजना र वार्षिक कार्यक्रम तर्जुमा हो।

४.१ आधार रेखा निर्माण

समितिले:

• तथ्याङ्क संकलन

• वस्तुस्थिति विश्लेषण

• स्रोत अनुमान

• लक्ष्य निर्धारण, जस्ता प्रारम्भिक कार्य गर्छ। यसले योजनालाई यथार्थपरक बनाउँछ।

४.२ परिणाममुखी दृष्टिकोण

अपेक्षित उपलब्धि र नतिजा खाका तयार गर्ने व्यवस्था परिणाममुखी बजेटिङतर्फ उन्मुख छ। संसदीय अभ्यासमा जस्तै यहाँ पनि नतिजा आधारित सोच विकसित गर्ने संरचना देखिन्छ।

४.३ सहभागीतामुलक निर्णय प्रक्रिया

प्रतिवेदन निर्देशक समितिमा पेस गर्नु अघि छलफल गर्ने प्रावधानले समावेशीकरण र सहभागितालाई बल दिन्छ। यसरी विषयगत समिति योजना प्रक्रियाको प्राविधिक फिल्टर र गुणस्तर नियन्त्रकका रूपमा कार्य गर्छ।

५. बजेट र मध्यमकालीन खर्च संरचनामा प्रभाव

बजेट निर्माण केवल आय–व्यय सन्तुलन मात्र होइन; यो राजनीतिक प्राथमिकताको दस्तावेज हो।

विषयगत समितिले:

• आफ्नो समितिको क्षेत्राधिकार भित्र त्रिवर्षीय खर्च प्रक्षेपण गर्ने,

• कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने,

• आयोजनाका दोहोरोपना हटाउने,

• योजना र बजेटबीच सामञ्जस्य कायम गर्ने जस्ता कार्य गर्छ।

यसले बजेटलाई:

योजनासँग जोड्ने

स्रोत यथार्थतासँग मिलाउने

क्षेत्रगत सन्तुलन कायम गर्ने कार्य सम्पन्न गर्छ।

संसदीय अर्थ समितिको अभ्यास जस्तै, स्थानीय विषयगत समितिले पनि बजेटलाई सूक्ष्म परीक्षण गर्ने भूमिका निर्वाह गर्न सक्छ; यदि प्रभावकारी रूपमा सञ्चालन गरियो भने।

६. नीतिगत अध्ययन र परामर्श

कार्यपालिकाबाट प्राप्त नीतिगत विषयमा:

• दीर्घकालीन प्रभाव

• आर्थिक दायित्व

• कानुनी सुसंगतता अध्ययन गरी राय दिनुपर्ने व्यवस्था छ।

यो प्रावधान संसदीय समिति प्रणालीको मूल सारसँग मेल खान्छ—जहाँ विधेयक संसदमा पारित हुनु अघि विस्तृत अध्ययन हुन्छ।

यदि समितिले गम्भीर अध्ययन र साक्ष्यमा आधारित विश्लेषण गर्न सके, स्थानीय नीति निर्माणको गुणस्तर उल्लेखनीय रूपमा सुधार हुन सक्छ।

७. समावेशीकरण, वातावरण र दिगोपन

समितिले योजना र बजेट प्रस्ताव गर्दा:

• वातावरणीय सन्तुलन

• सामाजिक समावेशीकरण

• लैंगिक समानता

• विपद व्यवस्थापन

• दिगो विकास लक्ष्य, जस्ता पक्षलाई ध्यान दिनुपर्ने व्यवस्था छ।

यो आधुनिक संसदीय अभ्यासको प्रतिविम्ब हो, जहाँ नीति केवल विकासमुखी नभई न्यायपूर्ण र दिगो हुनुपर्ने मान्यता छ।

८. प्रभावकारितामा देखिएका चुनौतीहरू

यद्यपि संरचना सबल छ, व्यवहारमा केही चुनौतीहरू देखिन्छन्:

(१) बैठक नियमितता अभाव

आवश्यकता अनुसार बैठक बस्ने भनिए पनि व्यवहारमा नियमितता कमजोर हुन सक्छ।

(२) प्राविधिक विश्लेषण सीमित

तथ्याङ्क विश्लेषण र आर्थिक मूल्याङ्कनमा दक्षताको अभाव।

(३) राजनीतिक प्रभाव

समितिको निर्णय कहिलेकाहीँ कार्यपालिकाको पूर्वनिर्धारित एजेन्डामा सीमित हुन सक्छ।

(४) अनुगमन र मूल्याङ्कन कमजोर

निर्णय कार्यान्वयनको पछिल्लो अनुगमन पर्याप्त नहुन सक्छ।

९. प्रभावकारिता अभिवृद्धिका उपाय

१. नियमित बैठक तालिका अनिवार्य गर्ने

२. सदस्य क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने

३. डिजिटल अभिलेखीकरण र पारदर्शिता बढाउने

४. निर्णय कार्यान्वयनको त्रैमासिक समीक्षा गर्ने

५. विशेषज्ञ परामर्शलाई संस्थागत गर्ने

१०. समग्र मूल्यांकन

संसदीय अभ्यासको कसीमा हेर्दा स्थानीय विषयगत समितिहरू:

• नीति पूर्व परीक्षण संयन्त्र

• बजेट गुणस्तर नियन्त्रक

• समावेशी विकासको माध्यम

• सुशासन प्रवर्द्धन गर्ने उपकरणका रूपमा विकसित हुन सक्ने प्रबल सम्भावना बोकेका छन्।

संरचना, अधिकार र प्रक्रिया स्पष्ट छन्। अब आवश्यकता छ;प्र भावकारी अभ्यास, क्षमता विकास र राजनीतिक इच्छाशक्तिको।

११. निष्कर्ष

संघीय नेपालको स्थानीय शासन प्रणालीमा विषयगत समितिहरू केवल औपचारिक संरचना होइनन्; ती स्थानीय लोकतन्त्रको गहिराइ मापन गर्ने उपकरण हुन्।

यदि यी समितिहरू:

• तथ्यमा आधारित निर्णय,

• पारदर्शी छलफल,

• समावेशी दृष्टिकोण,

• परिणाममुखी योजना / अवलम्बन गर्न सक्षम भए भने स्थानीय शासनमा गुणात्मक परिवर्तन सम्भव छ।

संसदीय अभ्यासको मर्म अनुरूप सशक्त, सक्रिय र उत्तरदायी विषयगत समिति प्रणाली नै सुशासन, दिगो विकास र जनविश्वासको आधारशिला बन्न सक्छ।